काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आर के शर्माले आउँदो दुई वर्षभित्र दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्।
उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख प्रदान गर्ने घोषणा पनि गरेका छन्।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरूलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित बैठकमा झन्डै एक करोड रुपैयाँ बराबरको सहयोग जम्मा भएको छ।
जूम माध्यमद्वारा शनिबार आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसारभरिका नेपालीहरूले दिल खोलेर सहयोग गरेको स्मरण गरे।
उनले तिनै तहका सरकारसँग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडितहरूलाई सक्दो सहयोग गर्न आफूहरूले काम गर्ने बताए।
उक्त कोषका लागि महासचिव बुद्धिसागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपैयाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ले ३ लाख, कृष्णजीवी पन्थले २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
त्यस्तै, उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने जनाए।
एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबारसम्ममा बैंक खाता खोली सबै साथीहरूलाई जानकारी गराउने बताए।
कार्यक्रमको सञ्चालन गरेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरूलाई धन्यवाद दिँदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए।


