काठमाडौं – डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धनगढीबाट बाजुरा जाँदै गरेको बोलेरो गाडी आइतबार बिहान दुर्घटनामा परेको हो।
बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो शिखर नगरपालिका-६ अन्यौलस्थित केआईसिंह राजमार्गमा दुर्घटना भएको डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए।
दुर्घटनामा मृत्यु हुनेमा बाजुरा हिमाली गाउँपालिका-५ की २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कबिन्द्र बुढा र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्ल रहेका छन्। विमला मलाल गम्भीर घाइते छिन्।
विमलासहित पाँच जना घाइते छन्। हिमाली गाउँपालिका- ५ का ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल घाइते रहेको कोइरालाले बताए।
उनीहरूको शैलेश्वरी अस्पताल दीपायलमा उपचार भइरहेको छ।
उक्त बोलेरो अनियन्त्रित भएर सडकबाट करिब ५०/६० मिटर तल खसेको थियो।
गाडीका चालक बाजुराका गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


