काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपाल र ओमानबीच भिडन्त तय भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान ११ बजेदेखि नेपाल र ओमन विश्वकप छनोटको उपाधिका लागि भिड्ने भएका हुन्।
सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले फाइनलमा ओमानसँगको भेट पक्का गरेको हो। बहराइनमाथि १० विकेट जित निकाल्दै फाइनल पुगेको टोली हो, ओमान। यी दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्। नेपालका लागि १० वर्षपछि विश्वकपमा उपस्थिति जनाउने अवसर प्राप्त भएको हो।
यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र ओमानबीच भिडन्त भएको थियो। त्यो खेलमा नेपाल ५ रनले पराजित भएको थियो। पराजित भएपनि समूह उपविजेताको रुपमा नेपाल सेमिफाइनल पुगेको थियो। समूह चरणमा आफूलाई हराएको ओमानसँग नेपाल फेरि भिड्ने भएको हो।


