काठमाडौँ- सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आइबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा परेर ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप २ लाख रुपैयाँ उपलव्ध गराइने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
सरकारले नेपालगञ्ज र सुर्खेतलाई मुख्य बिन्दु बनाएर एकद्वार प्रणालीबाट उद्धार, राहत र पुर्नस्थापनाको निर्णयसमेत गरेको शर्माले बताइन्।
भूकम्पमा घाइते भएकाको उपचार निःशुल्क गर्ने निर्णय पनि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतका अनुसार, भूकम्प पीडितहरुको उद्धारको काम पुरा भएर अब उपचार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय भएको छ।
२०७२ मा गएको गोरखा भूकम्पपछिको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी राहत र पुनःस्थापनाका काम सञ्चालन गरिने उनको भनाइ छ।
छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कसरी लिने र कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा थप छलफल गरिने मन्त्री बस्नेतको भनाइ छ।
शुक्रबार राति ११:४७ बजे जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी व्यक्त घाइते भएको विवरण प्राप्त भएको नेपाल प्रहरीले जानकारी दिएको छ। मृतकमध्ये ५२ जना रुकुम पश्चिम जिल्लाका हुन्। रुकुम पश्चिममा ७८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।


