काठमाडौँ- इजरायलमा मारिएका तीन नेपाली विद्यार्थीको शव सुर्खेत लगिएको छ। आइतबार उनीहरूको शव सेनाको हेलिकोप्टरमा राखेर सुर्खेत लिएको नेपाली सेनाले जानकारी दिएको छ।
सल्यानको शारदा–३ का प्रवेश भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै पचनालीका राजन फुलाराको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो।
सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकोप्टरमार्फत डोटी लगेर आफन्तलाई बुझाइने छ।
यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएर आफन्तलाई बुझाइसकिएको छ।
असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।


