काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ। भुसाल त्रिविका शिक्षाध्यक्ष हुन्। उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि यही कात्तिक १६ गते सकिएपछि भुसाललाई उक्त जिम्मेवारी दिइएको हो।
विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो। उक्त दफामा पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालनका लागि जिम्मेवारी तोक्न सक्ने उल्लेख छ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको त्रिविले जनाएको छ।
विश्वविद्यालय ऐनअनुसार भुसाल बढीमा तीन महिना उपकुलपतिको जिम्मेवारीमा रहन पाउनेछन्। त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छैन।


