नेपालगञ्ज- बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ। गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
उनीहरु तीनै जना जाजरकोटका हुन्। अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको उपचार भइरहेको जनाउँदै हालसम्म सात जनाको शल्यक्रिया गरिएका उनले बताए। श्रेष्ठका अनुसार यसअघि गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको थियो।
दुई गम्भीर बिरामीको आइसीयुमा र एक जना गर्भवती महिलाको प्रसूति वार्डमा उपचार भइरहेको श्रेष्ठले बताए। उनका अनुसार जाजरकोटका एक जना डिस्चार्ज भएर घर फर्केका छन्।
‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि स्थानान्तरण गरिएको थियो। बिरामी पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका छन्।
यसैबीच अस्पतालले बिरामीलाई सङ्क्रमण हुन सक्ने भन्दै निरन्तर भेटघाट र भिडभाड नगर्न आग्रह गरेको छ। अस्पतालले बिरामीलाई भेट्न निश्चित समय तोकेको छ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको मृत्यु भएको छ।
