काठमाडौं– श्रीलंकको राष्ट्रिय क्रिकेट बोर्ड बर्खास्तीमा परेको छ। भारतमा जारी विश्वकपमा खराब प्रर्दशनपछि सरकारले क्रिकेट बोर्डलाई बर्खास्त गरेको हो। केही दिन अघि श्रीलंकाले भारतसँग शर्मानक हार व्यहोरेको थियो। श्रीलंकका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्ने निर्णय लिएका छन्।
त्यसो त श्रीलंककाको क्रिकेट बोर्ड र खेलकुदमन्त्रीबीच यसअघि देखि नै विवाद रहेको बताइन्छ। क्रिकेट बोर्ड श्रीलंककाको सबैभन्दा धनी खेल संस्था हो। खेलकुदमन्त्री रणसिङ्घेले बोर्ड बर्खास्त गर्दै १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरेका छन्।
मन्त्री रणसिङ्घले बोर्डमा भएको भ्रष्टाचारको अनुसन्धान भइरहेको र छानविनका लागि तीन जना न्यायाधीश सहितको सात सदस्यीय समिति बनाएको बताए।
‘श्रीलङ्का क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु,’ उनले भने। गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलङ्का तीन सय दुई रनले पराजित भएपछि मन्त्री रणसिङ्घेले सार्वजनिक रूपमा सम्पूर्ण बोर्डको राजीनामा मागेका थिए।
मन्त्री रणसिङ्घेले श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए। उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भने, ‘तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ।’ श्रीलङ्काले सोमबार बङ्गलादेशसँग खेल्दैछ । विश्वकपको अन्तिम चारमा आफ्नो स्थान बनाउन उसलाई गणितीय चमत्कारको आवश्यकता छ ।
