धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक/कर्मचारीको आन्दोलन स्थगित भएको छ। बढुवासम्बन्धी रोकिएका काम यथाशीघ्र सुरु गर्न माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीसँग राजनीतिक दलसमेतको उपस्थितिमा सहमति जुटाइएको हो।
आइताबार रातभर बसेको बैठकपछि सोमबार सहमति भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए।
पदाधिकारी र आन्दोलनरत चिकित्सकबीचको सहमतिमा तीन बुँदा छन्। सहमतिमा ०७२ पुस २० मा साथै ०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापनबमोजिम आवश्यक प्रकृया पुर्याई अन्तर्वार्ता हुन बाँकी शिक्षक पदको अन्तर्वाता आगामी पुष २ गतेदेखि सुरु गरी पुष १५ गते सम्ममा सम्पन्न गरी एक महिनाभित्र नतिजा प्रकाशन गर्ने सहमति छ।
सहमतिपत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रह्लाद कार्की, रजिस्ट्रार सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य प्राडा स्मृति कार्कीको हस्ताक्षर छ। धरानका नगर प्रमुख हर्कराज राई आमन्त्रित सदस्यका रुपमा उपस्थिति थिए।
प्रतिष्ठानमा हाल करारका शिक्षक झण्डै ५० जना छन्। करारको प्रत्येक वर्ष सम्झौता हुने गरेको छ। विगत ७ वर्षदेखि प्रतिष्ठानका शिक्षकको पदोन्नति हुन सकेको छैन भने कर्मचारी १५ वर्षदेखि बढुवामा परेका छैनन्।
शिक्षकसँग वार्ता सफल भएपछि कर्मचारीसँगपनि पदाधिकारीले छलफल गरेका थिए। कर्मचारीसँग चार बुँदे सहमति भएको छ।
सहमतिमा कर्मचारी कल्याण समाजका पदाधिकारी र प्रतिष्ठान पदाधिकारीका साथै राजनीतिक दलका नेताहरूको पनि हस्ताक्षर छ। शिक्षक चिकित्सकसँगको वार्तामा धरानका मेयर हर्क साम्पाङको हस्ताक्षर सार्वजनिक भएपछि राजनीतिक दलका नेताहरू वार्तास्थल पुगेका थिए। यसपछि उनीहरूले पनि सहमतिमा हस्ताक्षर गरे।
हस्ताक्षर गर्ने नेतामा एमालेकी नेतृ मञ्जु भण्डारी, नेपाली काङ्ग्रेसका धरान नगर सभापति श्याम पोखरेल, एमाले धरान अध्यक्ष हर्कजंग एभेङ्ग, माओवादी केन्द्रका धरान अध्यक्ष सूर्यबहादुर भट्टराई र जसपा अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका धरान अध्यक्ष रेवतीरमण राईलगायतको हस्ताक्षर छ। उक्त सहमतिमा धरान-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राईको पनि हस्ताक्षर छ।
बीपीमा कर्मचारीको बढुवाका लागि प्रक्रिया सुरु भएपनि बीचमा रोकिएको थियो। स्थायीका लागि अन्तर्वार्ता हुन बाँकी सबै कर्मचारीहरुको अन्तर्वार्ता २०८० पुष ०१ गतेदेखि शुरु गरी मिति २०८० पुष मसान्त सम्ममा सम्पन्न गर्ने सहमति भएको छ। अन्तर्वार्ता सम्पन्न भएपछि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने पनि सहमतिमा उल्लेख छ।
करार सेवाको कर्मचारीहरुको अन्तर्वार्ता मिति २०८० मङ्सिर १ देखि सुरु गरी मंसिर महिना भित्रै सम्पन्न गर्ने सहमति भएको छ।


