काठमाडौं- ब्राजिल फुटबल प्रतिभाको गढ हो। यो कुनै रहस्यको कुरा होइन। विश्व फुटबलका लागि प्रतिभाशाली खेलाडी उत्पादन गर्ने ब्राजिल अतीत, वर्तमान र भविष्यका महान खेलाडीका घर हो। पेले, रोनाल्डो देखि लिएर रोनाल्डिन्हो, नेयमार, भनिसियस जुनियरसम्मको घर ब्राजिल नै हो। हरेक वर्ष फुटबलमा उत्कृष्ट युवा प्रतिभा ब्राजिलबाटै आउने गर्छन्।
उदयीमान प्रतिभाहरुको कहिलै अन्त्य नहुने खेलाडीको सूचीमा अर्को नाम कसको? यसको जवाफमा फोर्ब्स डटकमले भनेको छ- एन्ड्रिक। उदयीमान युवा खेलाडी एन्ड्रिक अहिले ब्राजिलियन सिरि ए क्बल पाल्मारिसबाट खेलिरहेका छन्। १७ वर्षका उनी एक वर्ष अघि नै यूरोपियन महारथी रियल मड्रिडमा अनुबन्ध भइसकेका छन्।
उनी अर्को समरमा रियल मड्रिडको जर्सीमा देखिनेछन्। उनी लेफ्ट फुटेट (देब्रे खुट्टा प्रयोग गर्ने) खेलाडी हुन्। उनी सेन्टर फर्वाड र विंग्सबाट खेल्न सक्छन्। उनी निकै तिव्र गतीका खेलाडी हुन्। उनको फूटबल आइक्यू र परिवक्वताको अक्सर प्रसंशा हुने गर्छ। केही दिग्गजहरुले उनलाई भविष्यका ठूला स्टारकारुपमा चित्रित गरेका छन्। रियल मड्रिडले महँगो सरुवा शुल्क जो सुकै खेलाडीका लागि तिर्दैन। त्यसकारण उनी निकै प्रतिभाशाली खेलाडी हुन्।
त्यसो त रियल ब्राजिलियन खेलाडी अनुबन्ध गर्ने कुरामा खुब दिलचस्पी राख्छ। अहिले रियलको पहिलो रोजाईमा खेलिरहेका रोड्रिगो र भिनिसियस जुनियरलाई पनि रियलले १८ वर्ष पुग्दा नपुग्दै बर्नबेउमा उतारेको थियो। एन्ड्रिक निकै चलाखीपूर्ण र आकर्षक फुटबल खेल्छन्। उनी अक्सर डिफेन्डरका लागि टाउको दुखाई बनिदिन्छन्। त्यसैले उनको खेल हेरेकाहरुले भन्ने गर्छन्-उनको दिमाग र खुट्टा बहुत तेज चल्छ।
त्यसो त सेन्टर फर्वाड पोजिसनका लागि उनी उपर्युक्त खेलाडी हुन्। शारिरिक बनावटले पनि उनलाई साथ दिएको छ। उनले पाल्मारिसका लागि निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सन् २००६ मा जन्मिएका उनी १७ वर्षको उमेरमै ब्राजिलको राष्ट्रिय टोलीमा समावेश भएका छन्।
ब्राजिलको राष्ट्रिय टोली सम्हालिरहेका अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजले उनलाई सोमबार विश्वकप छनौट चरणका खेल खेल्ने टोलीमा समावेश गरेका छन्। ब्राजिलले यही महिना कोलोम्बिया र अर्जेन्टिना विरुद्ध विश्वकप छनौट खेल्दैछ। ब्राजिलले १६ नोभेम्बरमा कोलम्बिया र २१ नोभेम्बरमा अर्जेन्टिना विरुद्ध खेल्नेछ।
राष्ट्रिय टोलीमा समावेश भएका सबैभन्दा कम उमेरका खेलाडीमा एन्ड्रिक रोनाल्डोपछिका अर्का खेलाडी हुन्। सन् १९९३ मा रोनाल्डो पनि १७ वर्षको उमेरमै राष्ट्रिय टोलीमा बोलाइएका थिए।
चोटका कारण नेयमार र कासिमिरोले भने विश्वकप छनौटका खेल गुमाएका छन्। दक्षिण अमेरिकी छनौटमा अर्जेन्टिना शिर्ष स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा छ।
ब्राजिलको टोलीमा को-को परे?
गोलकिपरः एलिसन, एडर्सन, लुकास पेरी
डिफेन्डरः इमर्सन, कार्लोस अगुस्टो, रेनान लोडी, बर्मार, गाब्रियल मागालेस, निनो, मार्कियोन्स
मिडफिल्डरः आन्द्रे, ब्रुनो गुमाराइस, डुग्लास लुइस, जोइलिन्टन, राफायल भिगा, रोड्रिगो
फर्वाडः गाब्रियल जेसुस, गाब्रियल मार्टिनअली, जाओ पेड्री, पाउलिन्हो, पेपे, राफिन्हा, भिनिसियस जुनियर


