काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन्।
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम बितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए।
‘सबैभन्दा पहिला तपाईहरुलाई बधाइ छ। तपाईहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ। १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईहरुले राम्रो गर्नुहोला,’ उनले भने।
‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मूलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ। क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं,’ उनले भने।
कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताए।
‘नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं। कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ,’ उनले भने, ‘सरकारको पहलप्रति आभारी छौं। बाँकी रहेका कामहरु पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं।’


