काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेसन दिएकी छन्। तेह्रथुमबाट आएका जनप्रतिनिधिसहित पर्यटन मन्त्रालय पुगेकी मन्त्री सीता गुरुङले तेह्रथुमको चुहानडाँडा विमानस्थलका विषयमा उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी हुन्।
दशक अघिदेखि चुहानडाँडा विमानस्थल निर्माणका लागि निरन्तर धाइरहे पनि कर्मचारीले फाइल अड्काएर राखिदिएको गुनासो मन्त्री गुरुङले मन्त्री किराँतीसँग गरेकी थिइन्। ‘मैले दशकभन्दा पहिलेदेखि यो योजनामा मन्त्रालय धाइरहेकी छु। विमानस्थलको सर्वेक्षण र सम्भाव्यता अध्ययन भइसकेको छ। तर त्यसपछि मन्त्रालयमै फाइल अड्किएको छ,’ पर्यटनमन्त्री किराँतीको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले भनिन्, ‘मन्त्रालयमा रोकिएको फाइल शीघ्र अघि बढाइदिन पर्यो। आवश्यक बजेट पनि व्यवस्थापन गरिदिनु होला।’
गुरुङको डेलिगेसन टोलीमा तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमसहित वडाध्यक्षहरुसमेत सहभागी थिए। चुहानडाँडा विमानस्थल निर्माणबारे २०३२ सालदेखि चर्चा भएपनि अहिलेसम्म विमानस्थल बनेको छैन।
जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले आफूले तत्कालै त्यसबारे बुझेर फाइल अघि बढाउने बताएका थिए। ‘हिजो के भयो? मैले जवाफ दिन सक्दिनँ। तर अब त्यसबारे बुझ्छु। भोलि नै यहाँबाट फाइल अगाडि बढ्छ,’मन्त्री गुरुङको टोलीसँग मन्त्री किराँतीले भनेका थिए।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ फागुन १५ गते चुहानडाँडा विमानस्थल निर्माण क्षेत्र पुगेर विमानस्थल निर्माणको वचन दिएका थिए। त्यसबेला हातमा ८७ करोडको लागत अनुमानको कागज र विमानस्थलको नक्सा बोकेका मन्त्री अधिकारीले भनेका थिए, ‘म प्रधानमन्त्री (केपी ओली)ले नै पठाएर यहाँ आएको हुँ। तीन वर्षभित्र विमानस्थल बन्छ, यो स्थानको समृद्धिको ढोका खुल्छ।’
हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको निधन भएपछि योजना अलपत्र परेको थियो। चुहानडाँडा विमानस्थल निर्माण क्षेत्र रहेको आठराई गाउँपालिका तत्कालीन प्रधानमन्त्री ओलीको जन्मथलोसमेत हो। अर्को वर्ष ओली आफैँ आठराई पुगेका थिए।
तत्कालीन प्रधानमन्त्री ओलीले भनेका थिए, ‘चुहानडाँडा विमानस्थलको काम छिट्टै सम्पन्न हुन्छ।’ त्यसपछि पर्यटनमन्त्री बनेका योगेश भट्टराईले पनि विमानस्थल निर्माणको प्रतिबद्धता जनाएपनि बजेट भने रोकिदिएका थिए।
गाउँपालिकाले विमानस्थल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरण गरिसकेको छ भने विमानस्थलका लागि २ सय ७१ रोपनी जग्गा तयार छ। त्यसमध्ये व्यक्तिका नाममा रहेको १० रोपनीमात्रै मुआब्जा दिनुपर्ने जग्गा छ।
