जलेश्वर- महोत्तरीबाट एकसाथ सम्पर्कविहीन भएका ५ जना किशोरी सम्पर्कमा आएका छन्। औरही नगरपालिका–२ का उनीहरू मंगलबार बिहान साढे ११ बजेदेखि सम्पर्कविहीन भएको तर केही समयअघि मात्र प्रहरीसँगको सम्पर्कमा आएका हुन्।
‘पाँचै जना किशोरीहरू एकैसाथ सम्पर्कविहीन भएका किशोरीहरू सम्पर्कमा आइसक्नु भएको छ,’ महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले, ‘प्रहरीसँग उनीहरूको प्रत्यक्ष रूपमा भेट चाहिँ भएको छैन। तर उहाँहरुसँग हामी चाँडै भेट्छौँ। त्यसपछि थप कुरा भन्न सकिन्छ।’
गिरीका ओरही-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कविहीन भएका थिए।
हराएकी भनिएकीमध्ये एक किशोरीले बुधबार आमालाई फोन गरेर आफूहरूको बारेमा चिन्ता नगर्न भनेकी थिइन्। तर त्यसपछि पनि उनीहरू सम्पर्कमा आएका थिएनन्। उनीहरू योजना बनाएर हिँडेको हुन सक्ने प्रहरीको आशंका छ।
केही महिनाअघि पनि महोत्तरीबाट केही किशोरी बेपत्ता भएका थिए। पछि उनीहरुले पाँचथरमा गएर काम गरेको पाइएको थियो। हराएका किशोरीहरू सबै विपन्न परिवारका हुन्।
