काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ। हेटौँडामा बिहीबार एन्फाको विशेष साधारण सभाले अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव असफल बनाएको हो।
असन्तुष्ट समूहको बहिष्कारका बीच भएको निर्वाचनमा ८७ मध्ये ५३ जनाले भाग लिएका थिए। जस मध्य ५२ जनाले नेम्वाङका पक्षमा मतदान गरेपछि अविश्वासको प्रस्ताव फेल भएको हो। एक मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ।
विशेष साधारण सभाको बन्द सत्रमा छलफल गर्न नपाएपछि असन्तुष्ट समूहले निर्वाचन बहिष्कार गरेको थियो। एन्फाका ४९ सदस्यले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सोही प्रस्तावमाथि निर्णय गराउन हेटौडामा आज बिहीबार विशेष साधारण सभा बैठक बोलाईएको थियो।
बैठकले अविश्वासको प्रस्तावलाई असफल मात्र बनाएको छैन, अध्यक्ष नेम्वाङ्गलाई आगामी साधारण सभाका लागि आरामदायी बहुमत प्रदान गरेको छ।
