काठमाडौं- चेल्सी तथा आइभोरी कोस्टका लिजेन्ड डेडियर ड्रोग्बा नेपाल सुपर लिगका लागि नेपाल आउने भएका छन्। यही छेकोमा उनले जाजरकोटमा गएको भूकम्प पीडितलाई सहयोग समेत उपलब्ध गराउने भएका छन्।
उनको फाउन्डेसनले भूकम्प पीडितका लागि २० लाख रुपैँया बराबरको सहयोग गर्ने भएको छ। नेपाल सुपर लिगले आफ्नो फेसबुक पेज मार्फत यसको जानकारी दिएको हो। ड्रोग्बा फाउन्डेसनका तर्फबाट हुने सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने एनएसएलले जनाएको छ।
‘म भूकम्प प्रभावित क्षेत्रको सहयोगका लागि ऐक्यबद्धता जनाउँछु। म एनएसएलसँगको सहकार्यमा नेपाल आउनेछु। विपद्को समयमा हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ,’ ड्रोग्बाले भनेका छन्।
उनी नेपाल आउने मिति भने तय भइसकेको छैन। चेल्सीका पूर्व खेलाडी ड्रोग्बा आफ्नो जमानाका स्टार थिए। उनले चेल्सीमा रहँदा च्याम्पियन्स लिग र ४ पटक प्रिमियर लिग जितेका थिए।


