काठमाडौँ- कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ।
बिहीबारका लागि महाशाखाले सार्वजनिक गरेको मौसम अपडेटमा बाँकी स्थानमा मौसम आंशिक बदली र सामान्यतया सफा रहने उल्लेख छ। कर्णालीका जाजरकोट र रुकुमपश्चिम कात्तिक १७ को भूकम्पबाट बढी प्रभावित जिल्ला हुन्।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने उसको आकलन छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा कर्णालीअन्तर्गतकै जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्पका कारण झन्डै ३५ हजार घर पूर्ण क्षति भएकाले मानिसहरू घरबाहिरै छन्। चिसो बढ्दै जाँदा त्यसको असर गर्भवती र बालबालिकामा बढेको छ। तर सरकारले राहतमा पालसम्म नदिएको भन्दै चर्को आलोचना भइरहेको छ।


