ढोरपाटन, (बागलुङ)- बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ। पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ। जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण भए पनि अझै धेरै ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ।
पुल नबनेको ठाउँमा स्थानीय काठको साँघु र फड्के तर्ने गर्छन्। पछिल्लो समय ढोरपाटन उपत्यकामा जानेको भिडभाड छ। ढोरपाटन पुग्ने पर्यटक गुर्जाघाट हुँदै जलजलासम्म पुग्ने गरेका छन्। जलजलासम्म पुग्न उत्तरगंगा खोला धेरै ठाउँमा तर्नुपर्ने हुन्छ।
‘ढोरपाटन आउने अधिकांश पर्यटकले हिमालको अवलोकन गर्न खोज्छन्, त्यसका लागि गुर्जाघाट हुँदै जलजला पुग्नुपर्ने हुन्छ, पर्यटकको यात्रालाई सहज बनाउनका लागि दुई ठाउँमा फड्के निर्माण गरेका छौँ, जलजालसम्म गाडीनै जान्छ, तर धेरै जासो बाइकमा जाने हुँदा खोलामा समस्या हुन्थ्यो’, उनले भने, ‘अब सहजै रुपमा जलजला पुग्न सकिने छ, बर्खामा खोला ठूलो आउँछ, फड्के हुँदैन, यात्रा पनि गर्न गाह्रो हुन्छ, दुई दिन लगाएर दुई ठाउँमा काम गरियो।’
फड्के निर्माण भएपछि यात्रा गर्न सहज भएको स्थानीय नीमबहादुर विकले बताए। युवायुवती सहज रुपमा खोला तर्न सके पनि बालबालिका र वृद्धवृद्धालाई निकै समस्या हुने गरेको भन्दै अब सजिलै वारपार गर्न सकिने उनको भनाइ छ। यहाँ हिउँदमा फड्के हाल्ने बर्खामा खोलाले बगाइदिने गरेको भन्दै स्थायी समाधानका लागि झोलुङ्गे पुल आवश्यक रहेको विकले बताए। सरोकारवाला निकायमा बारम्बार पुलको माग गरे पनि सुनुवाइ हुन नसकेको उनले गुनासो गरे।
निसीखोला गाउँपालिका–६ भल्कोटमा पनि स्थानीयले निसीखोलामा साँघु निर्माण गरेका छन्। बस्ती वारी र जग्गा जमिन खोला पारी भएको हुँदा स्थानीयले वर्षौँदेखि साँघुकै भरमा वारपार गर्ने गरेका छन्। खोलामा झोलुङ्गे पुल नहुँदा बर्खाको समयमा घण्टौँ समय लगाएर टाढा रहेको झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको भन्दै अहिले खोलामा पानीको बहाव खटेको हुँदा गाउँलेहरुले झारा गरेर साँघु हालेको स्थानीय फूलबहादुर बुढा मगरले बताए। अब बर्खा नलाग्दासम्म यही साँघुबाट स्थानीयले खोला वारपार गर्ने बुढा मगरको भनाइ छ। साँघु वारपार गर्न सहज भए पनि निकै जोखिमपूर्ण हुने उनले बताए। साँघु तर्नुपर्ने यहाँका स्थानीयको बाध्यता रहेको बुढा मगरको भनाइ छ।
उनले भने, ‘पुल नहुँदा खोलाले बगाएर अहिलेसम्म धेरैले ज्यान गुमाइसके, यस्तो अवस्थामा पनि राज्यको नजर यहाँसम्म पुगेको छैन, हामीहरु कति दिनसम्म यस्तो जोखिमपूर्ण यात्रा गर्ने? हरेक दिन वारपारी गरि राख्नुपर्छ, हामीहरु पनि कैयौँ पटक खोलामा खस्यौँ, भाग्यले बाच्यौँ, एउटा झोलुङ्गे पुल बन्न सके त यहाँका जनताले सास्ती खेप्नु पर्ने थिएन नि, कस्ले सुन्ने यहाँका जनताको समस्या?’
निसीखोला, तमानखोला, ढोरपाटन क्षेत्रमा रहेक वर्ष दर्जन बढी झोलुङ्गे पुल निर्माण भइरहेका छन्। धेरै खोलाहरु हुँदा एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न पुलको आवश्यक पर्छ। विकटको तुलनमा धेरै ठाउँमा पुल बनेर सहज भए पनि अझै दर्जनौँ स्थानमा झोलुङ्गे पुल बनाउनु पर्ने आवश्यक छ। लामा तथा छोटा झोलुङ्गे पुलले स्थानीयलाई सहज बनाउनुका साथै पर्यटक आकर्षण पनि गरिरहेका छन्।
रासस



