काठमाडौं– भुटानी रोनाल्डो उपनामले चर्चित चेन्चो ग्याल्छेनले मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका छन्। सातादोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आज(बिहीबार) भएको खेलमा एक गोलले पछि परेको मछिन्द्रले १–१ को बराबरी गरेको छ।
एक गोलले पछि परेको अवस्थामा विमल घर्ती मगरले इन्ज्युरी समयमा गोल गरेपछि मछिन्द्रले बराबरी गरेको हो। यो बराबरीपछी दुबै टिमले समान १-१ अंक बाँडेका छन्।
खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि ८६ औं मिनेटमा हिमालयन शेर्पाले अग्रता बनाएको थियो। मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले पेनाल्टी बक्सभित्र ह्यान्डबल गरेपछि पेनाल्टीमा सत्यम शर्माले सहजै गोल गरेका थिए।
त्यसपछि विमलले बराबरी गरेका हुन्। यो बराबरीसँगै दुवै क्लबले ६ खेलबाट समान ६ अंक जोडेका छन्। दुई दिन अघि मात्र मछिन्द्रले भुटानी राष्ट्रिय टिमका फर्वार्डलाई अनुबन्ध गरेको थियो। उनी ७७ नम्बरको जर्सीमा बिहीबार मैदानमा देखिएका थिए।


