काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकारणले इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्णय कार्यान्वयन गर्दै टिकटक तत्काल बन्द गर्न भन्दै सूचना जारी गरेको छ।
केही इन्टरनेट प्रदायक नेटवर्कमा टिकटक अझै चलिरहेको भन्दै प्राधिकरणले मंगलबार सूचना जारी गरेर तत्काल रोक लगाउने भनेको हो। सरकारले सोमबार टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्राधिकारणले यो निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही
गर्ने चेतावनी समेत दिएको छ।
‘नेपाल सरकार मन्त्रिपरिषदको २०८०–०७–२७ गतेको बैठकबाट सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र प्रयोग भइरहेको भन्ने बुझिन आएकाले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ,’ प्राधिकरणद्वारा जारी गरिएको सूचनामा भनिएको छ।


