अस्ट्रेलिया- अस्ट्रेलिया सरकारले जाजरकोट भूकम्पपीडितहरूको आकस्मिक आवश्यता पूर्ति गर्नका लागि ६ लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले करिब ५ करोड ९ लाख नेपाली रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको काठमाडौँस्थित अस्ट्रेलियाली राजदूतावासले जानकारी दिएको छ।
उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ। नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।
उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ।
‘पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु,’ नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनिन्, ‘अस्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ। हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ।’
