अहमदाबाद- सन् १९९९ मा भारतीय क्रिकेट टिम इङल्यान्डमा मोहम्मद अजहरुद्दिनको कप्तानीमा विश्वकप खेलिरहेको थियो। यतिबेला मुम्बईको बोरिवली उपनगरमा १२ वर्षका रोहित शर्माको क्रिकेट मोह फक्रँदै थियो।
रोहितलाई क्रिकेट क्याम्पमा पठाउन सहज थिएन। उनका बाबुले पैसाको जोहो गर्न निकै भौतारिनु परेको थियो। ट्रान्सपोर्ट फर्म वेयरहाउसमा काम गर्ने उनका बाबुको आम्दानी कम थियो। आर्थिक संकटकै कारण उनले रोहितलाई आफ्ना भाई रवि शर्माको घरमा राखिदिएका थिए। तर, एउटा खेल र एउटा स्कुलले रोहितको क्रिकेट करियर नै बदलिदियो।
रोहितले यही वर्ष बोरिवलीस्थित स्वामी विवेकानन्द इन्टरनेशनल स्कुलविरुद्ध एक खेल खेलेका थिए। उक्त स्कुलका प्रशिक्षक दिनेश लाड रोहितबाट प्रभावित भए। त्यसपछि प्रशिक्षककै सिफारिसमा स्कुलका सञ्चालक योगेश पटेलले रोहितलाई छात्रवृत्ति दिए।
आज तिनै रोहितको कप्तानीमा भारत विश्वकप २०२३ को फाइनलसम्म आइपुगेको छ। अस्ट्रेलियाविरुद्धको खेल जिताएर भारतलाई तेस्रोपटक च्याम्पियन बनाउने रोहितको लक्ष्य छ।
‘हाम्रा प्रशिक्षकले यी बालक क्रिकेटमा निकै उत्कृष्ट छन्। तर, उनको परिवारले स्कुल फिस (२७५ भारु प्रति महिना) दिन नसक्ने भएको उनलाई छात्रवृत्ति दिनु भने,’ ५४ वर्षका योगेश पटेल सम्झन्छन्, ‘आज रोहित भारतीय कप्तान छन्। हाम्रा प्रशिक्षकको सुझाव ठिक थियो र हामीले सही फैसला लिएका थियौं। यसमा म खुसी छु।’
आर्थिक अभाव
रोहित शर्माले पनि केही समयअघि ईएसपीएन क्रिकइन्फो डटकमलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘प्रशिक्षक चाहन्थें कि मैले विवेकानन्द स्कुलमा भर्ना भएर क्रिकेट खेल्न सुरु गरुँ। तर मसँग पैसा थिएन। त्यसपछि उनले मलाई छात्रवृत्ति दिए र चार वर्षसम्म सित्तैमा पढ्ने र खेल्ने मौका मिल्यो।’
नयाँ स्कुलमा भर्ना भएको केही महिनाभित्रै रोहितले १ सय ४० रनको एक अविजित पारी खेलेका थिए। मुम्बईका स्कुल, मैदान र क्रिकेट समिक्षकमाझ यो इनिङ्ग्सको निकै चर्चा भएको थियो।
मुम्बईको शिवाजी पार्कमा क्रिकेट सिकेर सचिन तेन्दुलकर, विनोद काम्बली र प्रवीण आमरे हुर्किए। यस मैदानमा आज पनि दर्जनौं नेट्स चल्छ। त्यसैमध्ये एक अशोक शिवलकरको हो, जो यस समय त्यहाँ खेलाडीका रुपमा थिए।
शिवलकर भन्छन्, ‘मलाई याद छ, रोहित शर्मा पहिले स्कुलका लागि स्पिन बलिङ गर्दथे। पछि उनका प्रशिक्षकले उनको ब्याटिङ क्षमता पहिचान गरे। यसपछि रोहितले मुम्बईको प्रसिद्ध कांगा लिग क्रिकेटदेखि मुम्बई क्रिकेट एशोसियसनको प्रतियोगितामा आफ्नो झन्डा गाड्न सुरु गरे।’
विवेकानन्द स्कुलका सञ्चालक योगेश पटेल आफ्नो फैसलाबारे खुसी व्यक्त गर्दै भन्छन्, ‘रोहितले मलाई कोभिड १९ का दौरान कल गरेका थिए, हालखबर बुझ्नका लागि। मैले भनें ः यसरी नै मानिसहरुको सहयोग गरिराख। उनलाई देखेर मलाई निकै खुसी लाग्छ।’

नयाँ जिम्मेवारी
विश्वकपमा रोहितले आफ्नो कप्तानी क्षमतामात्रै होइन, आक्रामक ब्याटिङको छाप पनि छाडिसकेका छन्। सन् २०१९ को विश्वकपमा सबैभन्दा धेरै रन बनाएका रोहितले यसपटक नयाँ रणनीतिले खेले। उनी ठूलो स्कोरको मतलब नराखी पहिलो पावर प्लेदेखि नै बलरहरुमाथि आक्रामक देखिए। यसले शुभमन गिललाई खेल्न सहज भएको छ। मध्यक्रममा कोहली, अय्यर र राहुललाई इनिङ्ग्स जमाउने अवसर पनि मिलेको छ।
यस विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध रोहित शुन्य रनमै आउट भए। तर, यसपछि उनको स्कोरले अलग कथा बोल्छ। उनले क्रमशः १ सय ३१, ८६,४८,४६,८७,४,४०,६१ र ४७ रन बनाए। यसमा उनको स्ट्राइक रेट १२४.१५ रहेको छ। यसले भारतलाई राम्रो सुरुवात गर्न मात्र होइन, ठूला लक्ष्य पछ्याउन पनि सहज भयो।
रोहितका लागि अब आफ्नो कप्तानीमा भारतलाई उपाधि जिताउने मौका छ। प्रतियोगिताको अन्तिम खेल त्यही अस्ट्रेलियाविरुद्ध छ, जुन टिमविरुद्ध पहिलो खेलमा उनले रनको खाता नै खेल्न सकेनन्। फाइनलमा ठूलो स्कोर बनाएर पहिलो खेलको पीडा भुलाउनुभन्दा राम्रो तरिका अरु के नै हुनसक्ला र !


