काठमाडौँ– अस्ट्रेलियाले छैटौँपटक विश्वकप क्रिकेटको उपाधि उचालेको छ। गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले सजिलै चेज गरेको हो।
अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा नै भारतले दिएको लक्ष्य भेट्टाएको हो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले शतकको योगदान गरे भने मार्नस लाबुसचाग्नेले अर्धशतकको योगदान गरे।
ट्राभिसले १२० बलमा १३७ रनको योगदान गरेका थिए। ट्राभिसले १५ चौका र ४ छक्का हानेका थिए। ट्राभिसलाई ४२.५ ओभरमा भारतका मोहम्मद सिराजले आउट गराएका थिए। मार्नसले ११० बलमा ५८ रन जोडे। मार्नस नटआउट रहे।
यसअघि छैटौँ ओभरको अन्तिम बलमा अस्ट्रेलियाका स्टेभ स्मिथलाई जसप्रित बुमराहले आउट गराएका थिए। स्थिथले ९ बल खेलेर ४ रन बनाए। त्यस्तै ४.३ ओभरमा बुमराहले मिसेल मार्सलाई आउट गराएका थिए। मार्सले १५ बल खेलेर १५ रन बनाएर आउट भए।
यसअघि १.१ ओभरमा मोहम्मद सामीले अस्ट्रेलियाका ओपनर डेभिड वार्नरलाई आउट गराएका थिए। वार्नर ३ बलमा ७ रन बनाएर आउट भए।
यसअघि भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको थियो। टस जितेर बलिङ रोजेको अस्ट्रेलियाली टिमका जोस ह्याजलवुडले भारतका सूर्यकुमारलाई ४७.३ ओभरमा आएट गराए। भारतका लागि सूर्यकुमारले २८ बलमा १८ रन बनाए।
आडम जम्पाले भारतीय खेलाडी जसप्रित बुमराहलाई ४४.५ ओभरमा आउट गराएका थिए। बुमराहले ३ बलमा १ रन मात्र बनाए।
अस्ट्रेलियाका मिसेल मार्सले भारतका केएल राहुललाई ४१.३ ओभरमा आउट गराए। राहुलले १०७ बलमा ६६ रनको योगदान गरे।
अस्ट्रेलियाली खेलाडी जोस ह्याजलउडले भारतका अलराउन्डर रविन्द्र जडेजालाई आउट गराएका थिए। जडेजा २२ बल खेल्दै ९ रन बनाएर पेबेलियन फर्किए।
यसअघि खेलको २८.३ ओभरमा अस्ट्रेलियाका प्याट कमिङ्गसले विराट कोहलीलाई आउट गराएका थिए। कोहलीले ६३ बलमा ४ चौकासहित ५४ रन जोडेर आउट भएका थिए।
भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौँ ओभरमा ४ रनमै आउट भएका थिए।
दशौं ओभरमा कप्तान रोहित शर्मा ४७ रनमा आउट हुँदा ११ औं ओभरमा कप्तान कमिङ्गसले भारतका श्रेयष अय्यर ४ रनमा आउट भएका थिए।
अस्ट्रेलियाले यसअघि पनि ५ पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको हो।
सन् १९८७ मा भारत र पाकिस्तानमा भएको विश्वकपमा इंगल्यान्डलाई हराएको थियो। सन् १९९९ मा इंगल्यान्डमा भएको विश्वकपमा पाकिस्तानलाई र सन् २००३ मा साउथ अफ्रिकामा भएको विश्वकपमा भारतलाई हराएर उपाधि उचालेको थियो।
यस्तै २००७ मा वेस्ट इन्डिजमा भएको विश्वकपमा श्रीलंकालाई पराजित गर्दै विश्वकप विजेता बनेको अस्ट्रेलिया सन् २०१५ मा न्युजिल्यान्डलाई पराजित गरी उपाधि रक्षा गरेको थियो।
भारतका प्रधानमन्त्री र अस्ट्रेलियाका उपप्रधानमन्त्री मैदानमा
विश्वकप क्रिकेटको फाइनल हेर्न अस्ट्रेलियाका उपप्रधानमन्त्री रहेका रक्षामन्त्री भारत आएका छन्।
अस्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लिज मैदानमा उपस्थित भएका हुन्। उता भारतीय पक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै मैदान पुगेका थिए।
एकदिवसीय क्रिकेटको फाइनल खेल सुरु हुनुअघि भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा विमान उडाएर खुसियाली मनाइएको थियो।
‘फ्री प्यालेस्टाइन’टीसर्ट लगाएर कोहलीलाई अंगालो हाल्न मैदान पुगिन् दर्शक
भारत र अस्ट्रेलियाबीचको एकदिवसीय क्रिकेटको फाइनल खेलमा एक दर्शक मैदान प्रवेश गरेकी छन्। मैदान प्रवेश गरेकी दर्शकले ‘फ्री-प्यालेस्टाइन’लेखेको टिसर्ट लगाएकी थिइन्।

तस्बिर : गेट्टी इमेजेज
उनले खेलमा ब्याटिङ गरिरहेका भारती खेलाडी विराट कोहलीलाई अंगालो नै हाल्न पुगेकी थिइन्।
यसपछि सुरक्षाकर्मीहरूले उनलाई पिचबाहिर निकालेका थिए। खेलमा कोहलीले अर्धशतक बनाएका छन्। उनले ६३ बलमा ५४ रन बनाएर आउट भए। उनले चार चौका प्रहार गरेका थिए। नेपाली समयअनुसार खेल २ बजेर १५ मिनेटमा सुरु भएको थियो।
भारतले न्युजिल्यान्डलाई हराएर फाइनलको यात्रा तय गर्दा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइलन पुगेको थियो। २० वर्षपछि भारत र अष्ट्रेलिया विश्वकपको फाइनलमा एकअर्का विरुद्ध भिडेका हुन्।
सन् २००३ मा भारत र अष्ट्रेलियाबीच फाइनल खेल भएको थियो। सो फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गर्दै उपाधि जितेको थियो। भारतले अहिलेसम्म २ पटक विश्वकपको ट्रफी जितेको छ। भारतले पछिल्लो पटक सन् २०११ मा र सन् १९८३ मा विश्वकपको उपाधि जितेको थियो।
एकदिवसीय विश्वकप क्रिकेटको उपाधि विजेता अस्ट्रेलियाले उपाधिसँगै चार ४० लाख अमेरिकी डलर (३३ करोड ३१ लाख भारु) पाउने भएको छ। उपविजेता भारतले २० लाख अमेरिकी डलर (१६ करोड ६५ लाख भारु) पाउनेछ।
सेमिफाइनलमा हारेका दुई टिम (न्यूजिल्यान्ड र दक्षिण अफ्रिका)ले ८ लाख अमेरिकी डलर (६ करोड ६६ लाख) रुपैयाँका दरले रकम पाउनेछन्।
समूह चरणबाट बाहिरिने ६ टोली (पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड)ले १ लाख अमेरिकी डलर (८३ लाख २९ हजार भारु) प्राप्त गर्नेछन्।


