काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँ नेतृत्वको समूह र एमाले निकट युवा संघलाई एकैदिन एकैठाउँमा विरोधका कार्यक्रम गर्न नदिने तयारी गरेको छ। आगामी मंसिर ७ गतेका लागि दुवै समूहले कार्यक्रम घोषणा गरेपछि प्रशासनले यस्तो तयारी थालेको हो।
प्रशासनले दुवै पक्षलाई माइतीघरमा कार्यक्रम गर्न नदिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले नेपाल क्लिक्सलाई जानकारी दिए।
उनले दुवै पक्षको कार्यक्रम अलग अलग ठाउँमा तोकिने बताए। ‘दुवै पक्षलाई एउटै मितिमा एकै ठाउँमा कार्यक्रम गर्न दिने कुरा भएन। दुवै पक्षहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ। अलग अलग ठाउँमा कार्यक्रम गर्न हामीले ठाउँ तोकिदिन्छौं। प्रचलित कानुन र संविधानको दायराभित्र रहेर उहाँहरुले उहाँहरुले आफ्नो कार्यक्रम गर्नुहुन्छ,’ उनले बताए ।
माइतीघरमा जनप्रदर्शन हुँदा अत्यावश्यकका सेवाहरु एम्बुलेन्स, शवबाहन आवतजावत हुने हुँदा त्यसक्षेत्रमा कार्यक्रम गर्न नदिने उनले बताए। सोमबार बेलुकासम्म प्रशासनले दुवै पक्षले गर्ने कार्यक्रमस्थल तोकिने उनले बताए। अहिले माइतीघरमा ठूलो संख्यामा जनप्रदर्शन वा कार्यक्रम गर्न नदिने उनले बताए।
‘माइतीघरमा कार्यक्रमस्थल नराख्न हामीले दुवै पक्षलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘त्यहाँबाट अन्य ठाउँ तोकेर सम्भवतः बेलुकासम्म यसको निर्णय गर्छौं।’
प्रशासनको अनुमति बेगर माइतीघरमा जनप्रदर्शन गर्ने काम भएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने उनको चेतावनी छ। ‘यदि, दुवै पक्षले अटेरी गरी र प्रशासनको अनुमति बेगर माइतीघर वा अन्यत्र प्रचलित कानुनविपरीत कार्यक्रम गर्न दिँदैनौं,’ उनले भने।
उनका अनुसार प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रमस्थल अलगअलग हुने गरी ठाउँ तोकिनेछ। प्रारम्भिक रुपमा तीनकुने वा अन्य क्षेत्रमा कार्यक्रमस्थल तोक्न सकिने जिल्ला प्रशासनको निष्कर्ष छ।
मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईँ नेतृत्वको समुहले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ मंसिर ७ मा देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ।
युवा संघले पनि ठूलो सङ्ख्यामा प्रसाईको काउन्टरमा विरोध गर्ने घोषणा गरिसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नै प्रसाईविरुद्ध आन्दोलनमा जान एमाले कार्यकर्तालाई निर्देशन दिएका छन्।
दुवै समुहका नेता, कार्यकर्ता र प्रदर्शनकारी एकै दिन काठमाडौंमा उत्रिदा झडप र अवाञ्छनीय गतिविधि हुन सक्ने चिन्ता थपिएको छ।


