काठमाडौँ- बेलायती सञ्चारमाध्यम बीबीसीकाे प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छिन्। सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा कपाली परेकी हुन्। उनी यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ता हुन्।
यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ।
यस वर्ष बीबीसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन्।
यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि रहेका छन्।
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो। सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन्। म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन्।


