काठमाडौँ- चाडपर्व, जाजरकोट भूकम्पलगायतका कारणले पछिल्लो केही समययता राजनीतिक गतिविधि शिथिल छ। तर, यही बीचमा एउटा विषयले भने ‘माइलेज’ पाइरहेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र नेकपा एमालेको भातृ संगठन युवासंघले आगामी बिहीबार गर्ने प्रदर्शन अहिले चर्चामा छ।
प्रसाईँ र युवासंघले प्रदर्शनको नाम र उद्देश्यको फरक-फरक व्याख्या गरेका छन्। युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन हुने जिकिर गरेको छ। प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले भने नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शनका रूपमा व्याख्या गरिरहेको छ।
युवा संघ र प्रसाईँले आ-आफ्ना प्रदर्शनलाई जसरी व्यख्या गरेपनि यो ‘एकअर्कालाई देखाइदिने’ उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको छिपेको छैन। एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका प्रसाईँले एमालेविरुद्ध निरन्तर आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन्। त्यसको काउन्टरमा एमाले नेता महेश बस्नेतले ‘देखाइदिने’ चेतावनी दिइसकेका छन्। यसर्थ बिहीबार हुन लागेका यी दुवै समूहका प्रदर्शन एकअर्कालाई ‘शक्ति देखाउने’ होड हुन्।
आइतबार मात्रै एमाले नेता महेश बस्नेतले बिहीबार प्रसाईँलाई युवासंघ के हो? भनेर देखाइदिने चेतावनी दिएका थिए। ‘मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसात गरेर मंसिर ७ गते हामी देखाइदिन्छौं। युवा संघ नेपाल के हो? अनेरास्ववियु के हो? एमालेको जनसंगठन के हो? एमाले के हो? भन्ने कुरा हामी देखाउँछौँ,’ उनले भनेका थिए।
प्रसाईँले यसअघि पनि सानाठूला प्रदर्शन आयोजना गर्दै आएका थिए। तर, अहिले प्रसाईँलाई देखाउन एमालेले प्रदर्शन आयोजना गर्नु चाहिँ अनौठो विषय बन्न पुगेको छ। करिब सात दशक लामो इतिहास बोकेको दलले प्रसाईँलाई देखाउन शक्ति प्रदर्शन गर्ने कुरा एमालेका लागि अशोभनीय मात्र होइन, लज्जास्पद पनि हो।
युवा संघले प्रसाईँको प्रदर्शनलाई काउन्टर दिन गरेको प्रदर्शनलाई माउ पार्टी एमालेले अनुमोदन गरिदिएको छ। युवासंघले गर्ने प्रदर्शन अब एमालेको प्रदर्शनका रुपमा परिणत भएको छ। अध्यक्ष केपी शर्मा ओलीले नै यसको जिम्मेवारी लिइसकेका छन्। यसर्थ एमालेले काउन्टर प्रदर्शन आयोजना गरेर प्रसाईँको ‘हाइप’ अझ बढाइदिएको छ।

एक व्यापारीले अराजक अभिव्यक्ति दिएका भरमा जम्मा पारेको भिडमार्फत गर्न लागेको प्रदर्शनलाई ‘काउन्टर अट्याक’ गर्ने एमाले रणनीतिको ‘सिन क्लियर’ छैन। या त एमाले एउटा व्यापारी तर्साउनका लागि पनि शक्ति प्रदर्शन गर्नुपर्ने दुरवस्थामा पुगेको हो, या त केही न केही राजनीतिक स्वार्थ जोडिएको छ।
झस्किएको प्रशासन
तल्लो स्तरमा एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका दुई पक्षले एकै दिन छुट्टाछुट्टै प्रदर्शनको आयोजना गरेपछि प्रशासन झस्किएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर आसपास प्रदर्शन गर्न नपाउने गरी १ महिनाका लागि निषेध आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले युवा संघ र प्रसाईँलाई प्रदर्शन गर्न छुट्टाछुट्टै स्थान तोकिदिएको छ।
युवासंघका लागि तीनकुनेमा क्षेत्रमा प्रदर्शन स्थल तोकिएको छ भने प्रसाईँलाई समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। प्रशासनले युवा संघ र प्रसाईँ समूहले गर्न लागेको प्रदर्शनले झपडको स्थिति निम्तन सक्ने निष्कर्षसहित माइतीघर आसपास प्रदर्शन गर्न रोक लगाउँदै छुट्टाछुट्टै प्रदर्शनस्थल तोकिएको जनाएको छ।
तिक्ततापूर्ण र अराजक अभिव्यक्ति दुवै पक्षले दिएकाले सुरक्षा स्थिति बिग्रन सक्ने आकलन प्रशासनको छ। प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले केही दिन अघि मात्रै तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर यसबारे छलफलसमेत गरेका थिए।
प्रसाईँको प्रदर्शन र सामाजिक सञ्जालमा बढ्दो चर्चापछि प्रधानमन्त्री दाहालले केही दिन अघि गणतन्त्र पक्षधरहरुको बैठक डाकेर व्यवस्थामाथि खतरा बढेको निष्कर्ष सुनाइसकेका छन्। त्यो बैठकले व्यवस्थामाथिको खतराबारे सबै दल सचेत रहने निष्कर्ष निकालेको थियो।
हजुरबासँग बिच्किएका प्रसाईँ र आक्रमक बस्नेत
०४८ सालको पेरिफेरिमा कांग्रेस निकट रहेका प्रसाईँ द्वन्द्वकालमा माओवादी हुँदै ७० को दशकमा एमालेसँग जोडिन पुगे। मेडिकल व्यवसायलाई स्वार्थमा राखेर उनले दल र नेतासँग नजिक/ढाटा हुने गरेको कुरा कतै छिपेको छैन।
झापाको विर्तामोड स्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन उनले लामो समयदेखि जोडबल गरिरहेका छन्। तर, उनको जोडबल सफल बन्न सकेको छैन। अहिले बैंक वित्तीय संस्थाविरुद्ध हुँदै नागरिक मुक्ति आन्दोलनका नाम दिएर गरिरेहको प्रदर्शन, ओकलिरहेका अराजक अभिव्यक्तिको तार बिएन्डसी मेडिकल कलेजको सम्बन्धनसँग जोडिएको छ। निकट हुँदा दल र नेताको चाकडीमा कुनै कसर नराख्ने प्रसाईँ टाढा भएपछि आलोचना, लाञ्छना र अराजक अभिव्यक्ति दिने कुरामा पनि उत्तिकै ‘फर्वाड’ देखिन्छन्।
२०७४ सालअघिसम्म प्रसाईंको खास परिचय थिएन। तर, २०७४ फागुन ६ मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाललाई चरेसको थालमा मार्सीको भात खुवाएपछि उनको एकाएक चर्चा चुलियो। उनलाई धेरैले ‘मार्सी’ उपनामले चिन्न थाले। त्यो बेला उनी माओवादी निकट थिए।

प्रसाईंको घरमा प्रसाईँसँग खाना खाँदै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड।
२०७७ मा तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपा फुटेपछि भने प्रसाईँ दाहाललाई छोडेर ओलीसँग निकट हुन पुगे। २०७७ फागुन १६ मा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटनमा ओलीलाई प्रमुख अतिथि बनाएका प्रसाईँले दाहालको चर्को आलोचना गरे।
त्यो बेला ओली प्रधानमन्त्री थिए। उनले सोही कार्यक्रममा बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने घोषणा गरिदिएका थिए। ओलीले त्यो घोषणा गरेको ठिक चार दिन अघि काठमाडौं विश्वविद्यालवको सिनेट बैठक बोलाएर बिएन्डसीलाई सम्बन्धन दिने प्रकिया अघि बढाउन निर्देशन दिइसकेका थिए।
तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बीएन्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई बालुवाटार डाकेर बीएन्डसीलाई सम्बन्धन दिलाउन दबाब दिएका थिए। तर आयोगले सम्बन्धन दिने निर्णय गरेन। सम्बन्धन नपाउने देखेपछि प्रसाईँ डा. गोविन्द केसीमाथि खनिएका थिए।
२०७८ को असारमा ओलीको सरकार ढल्यो। प्रसाईँको मेडिकल कलेजले सम्बन्धन पाएन। तरपनि ओली-प्रसाईँबीचको सम्बन्ध बिग्रिएको थिएन। प्रसाईँले ओलीलाई ‘हजुरबा’ भन्थे।
२०७८ असोजमा ललितपुरमा भएको एमालेको विधान महाधिवेशनपछि उनी एमाले प्रवेश गरे। एमालेको १०औं महाधिवेशनपछि केन्द्रीय सदस्यमा मनोनीत पनि भएका थिए। तर, ०७९ मंसिरमा भएको आम निर्वाचनमा प्रसाईँले टिकट खोजेका थिए। तर, ओलीले उनलाई टिकट दिएनन्। त्यसपछि भने प्रसाईँ एमालेविरुद्ध खनिन थाले। ‘हजुरबा’ भन्दै आएका ओलीको कुटु आलोचनामा उत्रिएपछि एमालेले कारबाही गर्दै प्रसाईँको केन्द्रीय सदस्य पद खोस्यो।
त्यसपछि प्रसाईँले राजनीतिको कोर्स पुनः परिवर्तन गरे। राजतन्त्र पुनःस्थापना, हिन्दू राज्यको मुद्दाको उचाल्न थाले। उनले बैंक तथा वित्तिय संस्थाको ब्याजमिनाहा हुनुपर्ने वकालत गर्न थाले। यिनै एजेन्डामा केन्द्रीत भएर आराजक तर निरन्तर अभिव्यक्ति दिन थालेपछि उनले आफ्नो पछाडि जम्मा हुने भिडमा मानिसहरूको संख्या बढाउँदै लगेका छन्। एमाले छाडेका प्रसाईँले पूर्वराजा ज्ञानेन्द्रसँग हिमचिम बढाएर व्यवस्था फेर्ने कुरा मात्रै गरिरहेका छैनन्, एमाले र ओलीमाथि उसैगरी निरन्तर खनिइरहेका छन्।

एक वर्षमै ओलीका नाती बनेका प्रसाई एक वर्ष नपुग्दै आनको तान परिवर्तन भए। प्रसाईँ र एमालेबीचको सम्बन्ध यतिसम्म बिग्रियो कि कालोमोसो दल्नेदेखि तोडफोडसम्म पुग्यो। प्रसाईँले हरेक दिन एमाले र एमाले नेताहरुलाई गाली गर्दै आएका छन्। जसका कारण एमाले पनि प्रसाईँले गर्न लागेको प्रदर्शनको काउन्टरमा देखाइदिने भन्दै छुट्टै प्रदर्शनको आयोजना गर्ने स्थितिमा आइपुगेको छ।
राजनीतिक रूपमा बलियो आधार बनाएर पटकपटक मुलुक हाँक्ने अवसरसमेत लिइसकेको दलले एउटा सामान्य प्रदर्शन गर्ने तयारीमा रहेको व्यक्तिसँग भिड्न कार्यक्रम नै जुधाउने मानसिकतामा पुग्नुले एमालेको राजनीतिक परिपक्वतामा मात्र प्रश्न उठाएको छैन, सित्तैमा अर्को प्रतिक्रियावादी प्रसाईँ समूहको बजारीकरण पनि गरिदिइरहेको छ।
खासगरी वाक्युद्धमा प्रसाईँ र एमाले नेता महेश बस्नेत उत्रिएका छन्। सामाजिक सञ्जालमै यी दुईले एकअर्कालाई सामाजिक सञ्जालमा तल्लो स्तरको गालीगलौज गर्दै आएका छन्। प्रसाईँले कम्बोडियाको टेलिकममा ओलीले अर्बौं लगानी गरेको आरोप प्रसाईले लगाएका थिए।
ओलीमाथि प्रसाईँले यस्तो आरोप लगाएपछि युवा संघका कार्यकर्ताले असोज २२ गते गते कान्तिपथस्थित होटेल एलो प्यागोडामा प्रसाईँमाथि कालोमोसो दलेका थिए। त्यसलगत्तै झापामा युवासंघले आयोजना गरेको कार्यक्रममा पुगेका बस्नेतको पार्किङ गरेर राखेको गाडी तोडफोड भएको थियो।
प्रदर्शनबारे के भन्छन् दुवै पक्ष?
बिहीबारको प्रदर्शनबारे दुवै पक्षको आ-आफ्नै दावी छ। युवा संघले भने भ्रष्टाचार, महँगी, अनियमितताको विरोधस्वपरुप शान्तिपूर्ण विरोध गर्न लागेको बताएका छन्। तर माफियाहरु आइलागे प्रतिवाद गर्ने दावी उसको योजना छ।
‘यो जनप्रदर्शन वा सडक संघर्ष केही होइन। विरोधसभा मात्र हो,’ युवा संघका अध्यक्ष क्षितिज थेबेले भने, ‘हामीविरुद्ध कुनै माफियाहरू जाइलाग्न आए, त्यसको प्रतिवाद गर्छौं। कसैले चाहँदैमा युवा संघलाई झुकाउन सक्दैन।’
प्रसाईँ समूहले भने कुनै दल विशेषसँग जुध्ने भन्दा पनि व्यवस्थाविरुद्ध लड्न प्रदर्शनको आयोजना गरिएको दाबी गरेको छ। तर एमाले भने आफूहरुसँग लड्न खोजेजस्तो देखिएको प्रसाईँ नेतृत्वको अभियानका सह-प्रवक्ता राजानन्द माण्डव्यको भनाइ छ।

‘कुनै दल विशेषसँग जुध्ने भन्दा पनि व्यवस्थाविरुद्ध लड्न लागेका हौं,’ उनले भने, ‘तर एमालेको चाहना अभियानसँग लड्ने भन्ने खालको देखियो तर हाम्रो चाहना एमालेसँग लड्ने होइन।’
प्रसाईँले कम्तीमा ५ लाख मानिस भेला गर्ने दावी गर्दै आएका छन्। उनले आफूहरूको अभियानमा राजावादी र राष्ट्रवादी शक्तिहरूको ऐक्यबद्धता रहेको बताउँदै आएका छन्। आफूहरूका विरोध कार्यक्रम एकअर्काविरुद्ध नभएको जिकिर गरे पनि एमालेको प्रदर्शन फगत् प्रसाईँमाथिको काउन्टर हो भन्ने कुरा छिपेको छैन। उता प्रसाईँको मुख्य ध्येय भने सकेसम्म बढी मानिसहरू जम्मा गरेर आफ्नो शक्ति प्रदर्शन गर्नु हो। उक्त शक्तिलाई उनले कसरी प्रयोग गर्नेछन् भन्ने चाहिँ आगामी दिनका क्रियाकलापले संकेत गर्दै जानेछ।


