काठमाडौँ- गत आर्थिक वर्षमा सबैभन्दा बढी तिर्नेहरू सम्मानित भएका छन्। बैंकमध्ये सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले कर तिरेको छ भने रेमिट्यान्स कम्पनीमा आईएमईले सबैभन्दा बढी कर तिरेको छ।
बिहीबार आन्तरिक राजस्व विभागको कार्यालयमा आयोजित कार्यक्रमा बैंक तथा रेमिट्यान्सका अध्यक्ष चन्द्र ढकालले बढी कर तिरेवापतको सम्मान ग्रहण गरेका छन्।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएकोसमेत बैंकले उल्लेख गरेको छ। बैंकले सन् २०२५ सम्ममा व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ। ग्लोबल आइएमई बैंकका शाखा ७७ जिल्लामै पुगेका छन्।
बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र सेवा प्रदान गरिरहेको छ।
धेरै आयकर तिर्नेतर्फ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), निर्यात गर्नेमा डाबर नेपाल प्रालि, एसियन पेन्ट्स परेको छन्। कृषि फर्मतर्फ ओबिसी फिड एन्ड फिड्स प्रालि, लघुवित्ततर्फ छिमेक लघुवित्त, शिक्षा तर्फ नोभेल शिक्षण अस्पताल रहेका छन्।
बिमातर्फ सबैभन्दा बढी कर तिर्नेमा एलाआइसी नेपाल, पर्यटनतर्फ मनकामना केवकार, बस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटले धेरै कर तिर्नेमा परेका छन्।
त्यस्तै, करदाता तर्फ नेपाल स्टक एक्सचेन्ज, भोटेकोशी उर्जा कम्पनी, आइएमी रेमिटान्स कम्पनीलाई विभागले सम्मान गरेको छ।
व्यक्तितर्फ विजयकुमार शाह बढी करदाताका रूपमा सम्मानित भए।


