काठमाडौँ- ऊर्जासचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत भएको छ। २०८० मंसिर ७ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेले ऊर्जा मन्त्रालयको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
यस्तै सुनको तस्करी नियन्त्रणसम्बन्धी अध्ययन गर्न गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। थप जनशक्तिमा राप द्धितीय श्रेणीका सरकारी वकिल, राप द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र अधिकृत तहका डाटा एनाइलाइटिस्ट एक जना हुने गरी थप गरिएको प्रधानमन्त्रीको सचिवाले जानकारी दिएको छ।
यस्तै विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवर नियुक्त भएका छन्। प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय समेत भएको छ।
बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गर्नेसमेत निर्णय गरेको छ।


