सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको यांग्रीलार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता भएको हो।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग यांग्रीलार्के खोलामा १ असार २०७८ मा आएको बाढीले अत्यधिक क्षति पुर्याएको थियो। बाढीबाट प्रभावित यांग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट १७९ परिवार प्रभावित थिए।
‘यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ,’ उनले भने। हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ। पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन्।
प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रतिपरिवार ५ लाख तथा जग्गा नहुनेलाई थप ३ लाख दिइनेछ।
‘यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत साझेदारी गर्नुपर्ने छ’, उनले भने। १ असार २०७८ मा आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी ५५१ घर बगाएको थियो।


