काठमाडौँ- भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई नजरबन्दमा राखेको भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ।
प्रसाईं नेतृत्वको अभियानले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको थियो। तर काठमाडौँ जिल्ला प्रशासनले उनको अभियानका लागि तीनकुनेमा अनुमति नदिइएको उल्लेख गरेको थियो।
अनुमति नदिइएको स्थानमा प्रदर्शन गर्ने तयारी गरेको भन्दै प्रहरीले प्रसाईंलाई घरमै सीमित गरिदिएको छ। तीनकुनेमा प्रदर्शन गर्नका लागि पुगेका व्यक्तिलाई पुग्नेबित्तिकै प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार प्रसाईंलाई उनकै सुरक्षा समवेदनशीलतालाई ध्यानमा राख्दै घरमै बस्न आग्रह गरिएको जनाएको छ।
प्रसाईंको अभियानले साढे ४ बजे घरमा नै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने बताएको छ।


