काठमाडौंँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
अडियोमा श्रेष्ठले प्रसाईँसँग सभापति रवि लामिछानेका मान्छेलाई दिन साढे २ कराेड रकम चाहिएको बताएका हुन्। श्रेष्ठले उधाराेमा मन्त्री बनाउन नमानेकाले तत्काल एक कराेड बुझाउनु पर्ने र बाँकी रकमकाे चेक दिए पनि मिल्ने बताएका छन्।
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको र श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी गरिएको बताएका छन्।
प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने सर्त राखेको कुरा अडियोमा सुन्न सकिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको तर त्यसका लागि दुई करोड रुपैयाँ घुस पार्टीलाई दिनुपर्ने भन्दै प्रसाईंसँग उक्त रकम माग गरेका छन्। पुस १० गते एमालेसहितको गठबन्धनको समर्थनमा दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेको तर सरकार विस्तार भइनसकेको अवस्थामा उनीहरूबीच घुसको डिल भएको बुझ्न सकिन्छ।


