काठमाडौं- पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समचारमा सत्यता नरहेको बताएको छ ।
कोषले भारतको उत्तराखण्डका विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन सहमति प्राप्त भएको भनेर नेपाल र भारतका केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको समचारको खण्डन गर्दै यस्तो बताएको हो।
‘समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित समाचारमा कुनैपनि सत्यता नरहेको र त्यसकिसिमका सबै समाचार भ्रामक हुन्,’ कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पशुपतिनाथ मन्दिरप्रति नव भारत टाइम्स डट कम, इन्डिया टाइम्स डट (अक्टोबर २८) मा ‘पहले सीडीएस जनरल बिपिन रावत के सैन गावमा बनेगा पशुपतिनाथ मन्दिर,अब उत्तराखण्ड में होगे पाच धाम’ भन्ने शीर्षक राखी प्रकाशित समाचार र गोरखा एक्सप्रेस साप्ताहिकको वर्ष ४२ अङ्क १५ २०८० मङ्सिर ५ मङ्गलबार (२१ नोभेम्बर) मा प्रकाशित ‘भारतमा पशुपतिनाथ बनाउन स्वीकृति दिइयो भन्ने मूल शीर्षक राखी बीचमा पशुपतिनाथ मन्दिरमा विपिन रावतको फोटो र क्याप्सनमा पूर्व सीडीएस जनरल विपिन रावत गाँउ भारतका प्रथम पशुपतिनाथ मन्दिर बनेगा’ विषयको समाचारप्रति पशुपति क्षेत्र विकास कोषको गम्भीर ध्यानाकर्षण भएको छ।’
कोषले समचारमा उल्लेख भए बमोजिम भारतको उत्तराखण्ड बिपिन रावतका गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र पत्राचार गर्ने गराउने निर्णय समेत नभएको उल्लेख गरेको छ।
कोषले समाचारका कारण तमाम हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिक जनप्रति पारिएको आघात पुगेको भन्दै खेद प्रकट गरेको छ।


