काठमाडौँ- मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या प्रयास गरेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले आत्महत्या गर्नै लाग्दा उनलाई ताहाचलबाट जीवितै उद्धार गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।
मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने धम्की दिएको भन्दै युवकले फेसबुक लाइभमा बताएका थिए। उनले आत्महत्याको प्रयास गर्दैगर्दा काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो।
२ वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहा मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाएको लाइभमा बताएका थिए।
अहिलेसम्म ४ लाख ५४ हजार रुपैयाँ तिरिसक्दा पनि १० गते (भोलि) सम्म २८ हजार रुपैयाँ नबुझाए बाइक पनि लैजाने र घर पनि लिलाम गर्ने धम्की मोरङ अटो वर्क्सले दिएको उनले लाइभमा बताएका थिए।
निज व्यक्तिलाई जिल्ला प्रहरी परिसर, काठमाडौं, टेकुको प्रहरी टोलीले फेला पारी उद्धार गरिसकेको जानकारी गराउदछौ ।
— Nepal Police (@NepalPoliceHQ) November 25, 2023


