पोखरा- नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीले नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमितिको आधिकारिक नेतृत्व नसिब गुरुङले पाएपछि नेपाल विद्यार्थी संघकै अर्को एक पक्षले विरोध जनाएको छ। कांग्रेस कास्कीले एकपक्षीय रुपमा नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्षका लागि सिफारिस गरेको भन्दै नेविसंघकै अञ्जन थापा पक्षले विरोध गरेको हो।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले चैत २२ गते विज्ञप्ति जारी गर्दै नेविसंघ कास्कीको आधिकारिक अध्यक्ष नसिब गुरूङ भएको जानकारी गराएका थिए। सभापति बरालले विधिविधान र पद्धति मिचेर गुरुङ अध्यक्ष भएको विज्ञप्ति जारी गरेको भन्दै आफूलाई पनि कास्की नेविसंघकै अध्यक्ष दाबी गर्ने अन्जान थापा पक्षले आपत्ति जनाएको हो। उता बरालले भने नेविसंघ केन्द्रीय समितिकै पत्रअनुसार गुरुङलाई आधिकारिकता दिइएको बताएका छन्।
‘विगत १७ वर्षदेखि टीकेप्रथामै चलेको कास्की नेविसंघलाई सधैँ यस्तै बन्धक बनाएर तन्नेरी पुस्तालाई सखाप बनाउने अधिकार कसैलाई छैन,’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सभापति बरालले जिल्ला कार्यसमितिको अधिकारिक बैठक बिना नै नेविसंघको सभापतिका लागि गोप्य रूपमा सिफारिस गरेको समेत थापा पक्षको आरोप छ। उसले जिल्ला अधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको वातावरण सिर्जना गर्नसमेत माग गरेको छ।
कास्की कांग्रेसको विज्ञप्ति
![]()
नेविसंघका थापा पक्षको विज्ञप्ति




