काठमाडौँ- ५ दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका मेडिकल सञ्चालक दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा धकेलाधाकेल भएको छ।
प्रदर्शनकारीहरूले गौशालाको मूल सडकमा आन्दोलन सुरू गरेपछि धकेलधाकेलको अवस्था सिर्जना भएको हो। धर्मगुरुलाई अगाडि सारेर प्रसाईंका समर्थक प्रदर्शनमा सहभागी भएका थिए।
गौशालाको प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए। प्रहरीका अनुसार सडक कब्जा गर्ने प्रयास गरेपछि प्रदर्शनकारीलाई तितरबितर पारिएको छ भने केही व्यक्तिलाई नियन्त्रणमा पनि लिइएको छ।
मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र ‘तानाशाही’ शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईंले बताउने गरेका छन्।


