काठमाडौं- सरकारले जाजरकोट भूकम्पपीडितका अस्थायी आवास बनाउन सेना र प्रहरी परिचालन गर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार चिसोका कारण प्रभावितहरूको स्वास्थ्यमा समस्या आउने तथा केही स्थानमा मृत्युक घटना पनि बढेपछि नागरिक जोगाउनका लागि अस्थायी आवास बनाउन सेना र प्रहरी खटाउने निर्णय भएको हो।
यो निर्णयसँगै अब नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भूकम्पप्रभावितका अस्थायी आवास बनाउन सघाउने छन्।
जिल्ला सुरक्षा समितिले यसबारे खाका बनाएर काम अघि बढाउने उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने समितिले तीन वटै सुरक्षा निकायलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने बताइएको छ।
यसअघि नै नेपाली कांग्रेसले भूकम्पप्रभावित नागरिकका अस्थायी आवास बनाउनका लागि जाजरकोट र रुकुम पश्चिममा नेता प्रदीप पौडेलको नेतृत्वमा टोली खटाइसकेको छ। उक्त टोलीले हालसम्म एक सय अस्थायी घरको निर्माण सम्पन्न गरेको नेपाली कांग्रेसले जानकारी दिएको छ।


