पोखरा- पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा मधेश प्रदेश र विभागीय टिम नेपाल आर्मी पुगेका छन्।
सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश फाइनल पुग्दा बागमतीलाई हराउँदै आर्मी फाइनल प्रवेश गरेका हुन्।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
मधेसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो।
जवाफी ब्याटिङमा २२ रनमा नै २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले शतकीय साझेदारी गरे पनि जितका लागि प्रयाप्त हुन सकेन।
जोरा ५४ रन बनाएर आउट भए। प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्की १३, सुमित महर्जनले १३, असिफ शेखले ४, पुरन विकले ४, अरुण ऐरी र अमर रौटेला शुन्य-शुन्य रनमा आउट भए।
बलिङतर्फ मधेसका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २–२ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो। मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरेका थिए। शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन्। पवन सराफले ३३ रन रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएका थिए।
बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिएका थिए।
यसअघि भएको पहिलो सेमीफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब विजयी भएको थियो। बागमती प्रदेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
आर्मीका लागि भीम सार्कीले ३५ बलमा ३९ रन जोडे। सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे। कुशल मल्लले ८ बलमा २७ रन जोडे। विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए।
बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो। बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रनको पारी खेले।
बागतीका कप्तान सन्दिपले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए।
बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए। सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिए।
आर्मीले उपाधिका लागि मधेश प्रदेशसँग शुक्रबार भिड्नेछ।


