पोखरा- पोखरामा सम्पन्न केपी ओली राष्ट्रिय टी–२० क्रिकेट कपको उपाधि मधेश प्रदेशले जितेको छ।
विभागीय टोली नेपाल आर्मीलाई ११ रनले हराउँदै मधेशले कपको उपाधि हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सकेको थियो।
सशस्त्र प्रहरीलाई हराउँदै मधेश फाइनलमा पुगेको थियो भने बागमतीलाई हराएर आर्मीले उपाधि भिडन्त तय गरेको थियो।
आर्मीका सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन्। आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भएका थिए।
बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन्। प्रदीप पासवानले २ र प्रतीक यादवले १ विकेट लिए।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रनको टार्गेट दिएको थियो।
मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३-३, सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए।
उपाधि जितेको मधेसले नगद ५ लाख हात पार्यो। फाइनलमा मधेससँग पराजित भएको आर्मीले २ लाख ५० हजारमामा चित्त बुझायो।


