आफ्नो जासुसी स्याटेलाइटको सहयोगमा अमेरिकी राष्ट्रपतिको निवास र कार्यालय, ह्वाइट हाउसका गतिविधि हेर्नसक्ने दाबी उत्तर कोरियाले गरेको छ।
गत नोभेम्बरमा उत्तर कोरियाले पठाएको यो जासुसी स्याटेलाइटले काम गर्न सक्नेमा पश्चिमा मुलुकलाई सन्देह छ। तर, आफ्नो स्याटेलाइटले राम्रोसँग काम गरिरहेको दाबी उत्तर कोरियाले निरन्तर गरिरहेको छ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन आफ्नो नयाँ जासुसी उपकरणबारे बोलेर थाक्दैनन। उत्तर कोरियाली सरकारी मिडियाले मंगलबार त्यस्ता केही स्थानहरुको सुची छापेको थियो, जसलाई स्याटेलाइटबाट हेर्न सकिन्छ।
यस सुचीमा ह्वाइट हाउस, अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागन, अमेरिकाको उत्तरी र पूर्वी हिस्सामा रहेको वायुसेनाको क्याम्प र गुआम प्रान्तको नाम समावेश छ। लिस्टमा दक्षिण कोरियाको सैन्य निशाना र बुसान शहर पनि समावेश छ।
यसमा अर्को एउटा आश्चर्यलाग्दो नाम पनि छ, इटलीको राजधानी शहर रोम। लिस्टमा समावेश स्थानहरुको नाम हेर्दा यो गम्भिर विषय भएको अनुमान लगाउन सकिन्छ, तर यस्तो नहुन पनि सक्छ।
यस रिपोर्टबारे बीबीसीले सोधेको प्रश्नमा अमेरिकी सेनाका एक अधिकारीले भने, ‘ह्वाइट हाउस र पेन्टागनका हजारौं तस्विर इन्टरनेट र अनलाईनमा छन्। त्यसैले यस विषयमा यहीं छोड्दा राम्रो होला।’

यो साँचो हो कि गुगल अर्थ वा इन्टरनेट लाइभस्ट्रिमबाट ह्वाइट हाउस देख्न सकिन्छ र यसका तस्विर लिन सकिन्छ। बीबीसीले पनि यस्तै गरेर तस्विर हेरेको थियो। युट्युबमा खोज्दा हामीलाई पहिलो परिणाम मिल्यो – ह्वाइट हाउसको लाइभ क्याम।
त्यसो भए किम जोङ उन यस्तो दाबी गरेर के साबित गर्न खोज्दैछन् त? उनी बढाईं–चढाईं गर्दैछन् वा केही त्यस्तो खास भेटाएका पनि छन्?
के साँच्चै स्याटेलाइटले काम गर्दैछ?
उत्तर कोरियाको जासुसी स्याटेलाइटले काम गर्दैछ या छैन, यस विषयमा विभिन्न शंका व्यक्त भएको छ। साता दिनदेखि धेरै समय यो स्याटेलाइट अन्तरिक्षमा तैरिरहेको छ। र, यसले धर्तीमा तस्विर पठाएको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
अमेरिका, दक्षिण कोरिया र जापानको दाबीअनुसार अहिलेसम्म यो स्याटेलाइट आफ्नो कक्षमा छ।
सोलस्थित कुकमिन विश्वविद्यालयमा उत्तर कोरियाको राजनीतिक मामिलाबारे शोध गरिरहेका फ्लोदोर तेरतितस्की भन्छन्, ‘उत्तर कोरियाका विषयमा हामीलाई एउटा कुरा थाहा छ। उसले सधैं झुठ बोल्छ।’
उनी भन्छन्, ‘उसले कुनै दाबी गर्दैमा त्यो साँचो हुनुपर्छ भन्ने छैन। नपत्याए, उसले गर्ने कामहरुलाई सधैं ध्यानपूर्वक नियाल्नुस्।’
गलत तस्विर शेयर गर्दै आफ्नो सैन्य शक्तिबारे बढाई–चढाई गर्नु र आफ्नो हतियारको क्षमताबारे दाबी गर्नु उत्तर कोरियाको इतिहास हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उसले यस्तो प्रोपोगान्डा गर्दै आएको छ। उत्तर कोरियाले यसपटक स्याटेलाइटबाट तस्विर खिचेको दाबी गरेपनि ती तस्विर सार्वजनिक गरेको छैन। हुनसक्छ, आफ्ना दुश्मनहरुले उत्तर कोरियाली स्याटेलाइटले के–के पत्ता लगाउनसक्छ भनेर थाहा नपाउन् भन्नका लागि यसलाई सार्वजनिक नगरिएको हो।
सामरिक महत्व
तर, यदी उत्तर कोरियाको स्याटेलाइटले काम गरिरहेको छ भनेपनि जानकारहरु सर्भिलेन्सबाट उत्तर कोरियालाई मिल्ने तस्विरको गुणस्तर राम्रो नहुनसक्ने बताउँछन्।
जानकारहरु भन्छन्, ‘उत्तर कोरियाली स्याटेलाइटको रिजोलुशन सिमित छ। यो ३ एमदेखि ५ एमको रेन्जमा छ।’
सोलस्थित एशियन इन्स्टिच्युट फर पोलिसी स्टडिजमा उत्तर कोरियाली सेनाबारे शोध गरिरहेका युक यांग भन्छन्, ‘ ‘कम रिजोलुशनको हुनुका बाबजुद उत्तर कोरियाको सक्रिय स्याटेलाइटले परमाणु हमलाका लागि टार्गेट चिन्हित गर्नसक्छ भने प्रमाणित ग¥यो भनेमात्रै यस स्याटेलाइट रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ।’

दोस्रो महत्व, यो स्याटेलाइटले अहिल्यै आवश्यक गोप्य जानकारी जम्मान गर्न नसके पनि यसले उत्तर कोरिया प्रविधिमा अगाडि जाँदैछ भन्ने देखाउँछ।
सोलस्थित इव्हा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय स्टडिजका प्रोफेसर लेफ एरिक एसले भन्छन्, ‘उत्तरको लक्ष्य संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरुको उल्लंघन गर्दै आफ्नो क्षमता बढाउने र आफ्नो लन्चलाई सामान्य बनाउने हो।’
उनी भन्छन्, ‘आफ्नो स्याटेलाइट कार्यक्रमलाई उत्तर कोरियाले सधैं बचाउ गर्छ। उसले यसलाई आफ्नो सम्प्रभु अधिकार भन्छ। यसलाई आफ्नो सेनाको आवश्यकता र घरेलु राजनीतिमा जनतासँग गरिएको वाचा भन्छ।’
जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफरेशन स्टडिजका स्याटेलाइट इमेजरी विशेषज्ञ डेव श्रमेरलर भन्छन्, ‘मेरो बुझाईमा उनीहरुका लागि यो ठूलो उपलब्धि हो। शुन्यबाट अगाडि बढेर केही हासिल गर्नुजस्तै।’
रोयटर्स समाचार एजेन्सीसँग उनले भनेका छन्, ‘तर जब उनीहरुले एकत्रित गरेका तस्विर हामीले देख्न पाउदैंनौं। तबसम्म हामीले केवल उनीहरुले गर्ने प्रयोगका विषयमा मात्रै अनुमान गर्नसछौं।’
बाइडेन र बाँकी विश्वलाई सन्देश दिने प्रयास?
उत्तर कोरियाको लामो समयदेखिको राजनीतिक लक्ष्य छ ः अन्यमाथि नजर राख्नका लागि उसको आँखा आकाशमा होस्। उसको पुरै भूभागलाई हेर्नसक्ने क्षमता पश्चिमा मुलुकसँग छ भन्ने उसले बुझेको छ। प्रोफेसर लेफ एरिक एसले भन्छन्,‘उत्तर कोरियालाई डर छ। अमेरिकी स्याटेलाइटले आफूलाई हेर्न सक्छ भन्ने विषयले ऊ रुष्ट पनि छ।’

फ्लोदोर तेरतिस्की भन्छन्, ‘पश्चिमा मुलुकसामु उत्तर कोरियाले आफ्नो ताकत प्रदर्शन गरिरहेको छ। भलै, उसको ताकत सही हो या होइन। पश्चिमालाई उसको सिधा सन्देश छ कि उत्तर कोरियाको सैनिक अखडा र परमाणु अखडामा उनीहरुले आफ्नो नजर नराखुन्।’
उनी भन्छन्, ‘उत्तरले यो सन्देश दिइरहेको छ कि यदी हाम्रो अखडामा हमला गर्ने कोसिस गर्यौं भने हामी तिमीहरुलाई ध्वस्त गर्नेछौं। उनीहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई व्यक्तिगत रुपमा सन्देश दिइरहेका छन् कि हाम्रो नजर अमेरिका र तिमीमाथि छ। ’
प्रगति देखाउने प्रयास
उत्तर कोरियाको यो कदम बाँकी दुनियाँबाट अलग–थलग रहेर एक कम्युनिस्ट तानाशाहको शासनकालमा बाँचिरहेका आफ्ना जनतालाई भरोसा दिलाउने कोसिस पनि हो। उनीहरु देशले प्रविधिको क्षेत्रमा प्रगति गरिरहेको बताउन खोजिरहेका छन्।
नोभेम्बरको अन्तिम साता स्याटेलाइट लन्च गर्ने र भर्खरै अमेरिकाका विभिन्न स्थानहरुको सूची सार्वजनिक गर्ने कार्य त्यस्तो अवस्थामा भइरहेको छ, जब उत्तर कोरियामा स्थानीय निकायका लागि चुनाव सम्पन्न भयो।
बेलायतको सेफिल्ड विश्वविद्यालयमा कोरियाली स्टडिजकी लेन्चरर डा. सारा सन भन्छिन्, ‘मलाई शंका छ कि ह्वाइट हाउस र पेन्टागनजस्ता महत्वपूर्ण स्थान देखिएको दाबी घरेलु पाठकका लागि गरिएको हुनसक्छ। उत्तर कोरियाका सामान्य नागरिकको पहुँच इन्टरनेटसम्म छैन। उनीहरुलाई स्याटेलाइट इमेजरीमार्फत अन्य स्थान हेर्नका लागि इन्टरनेटमा उपलब्ध संसाधनका विषयमा कम जानकारी हुन सक्छ।’
–बीबीसी हिन्दीबाट


