ओखलढुंगा- पहिचानवादीको समूहले ओखलढुंगामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कालोझन्डा देखाइएका छन्। जिल्लामा नवनिर्मित बीपी स्मृति भवन उद्घाटनका लागि ओखलढुंगा पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई कालोझण्डा देखाइएको हो।
यसपालिको ओखलढुंगा भ्रमणमा देउवाले नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन पनि उद्घाटन गर्ने कार्यक्रम छ। देउवालाई कालोझण्डा देखाएको आरोपमा ९ जना पहिचान पक्षधर नेता पक्राउ परेका छन्।
कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै पहिचानवादीहरूले आन्दोलनका विभिन्न गतिविधि गर्दै आएका छन्। देउवालगायतका नेताले स्वर्गीय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीले नारा–जुलुस गर्दै कालोझण्डा देखाएका थिए। उनीहरूले कार्यक्रम बिथोल्ने प्रयास पनि गरेका थिए। त्यसलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राई, रेखराज राई, चम्मर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई र सुजन राई रहेको जिल्ला प्रहरी प्रमुख दीपक केसीले बताए।
कार्यक्रम बिथोल्न र नेताहरूलाई कालोझन्डा देखाउन थालेपछि पक्राउ गरिएको केसीको भनाइ छ।


