काठमाडौँ- रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा वडाध्यक्ष सहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
न्यायाधीश खड्गबहादुर केसीको इजलासले वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो। आइतबारदेखि जारी अन्तिम सुनुवाइ मंगलबार सकिएपछि यस्तो फैसला आएको हो।
सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। नाम नखुलाइएका तीन जनालाई पनि यो मुद्दामा जन्मकैदको फैसला भएको छ।
उनीहरूलाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानासमेत तोकिएको छ।
यो मुद्दामा ८ जनाले सफाइ पाएका छन्। यो मुद्दामा सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन्।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुम पश्चिमको सोतीगाउँ पुगेका थिए। त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।
नवराजसहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या भएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए।
३४ जनालाई अभियुक्त बनाइएको यो मुद्दामा ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग लगाइएको थियो। एक जनालाई भने मतियार बनेको अभियोग थियो।


