तुलसीपुर (दाङ)– प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी रहने घोषणा भएदेखि रोक्का भएको राप्ती उपत्यकाको जग्गा फुकुवा भएको छ।
मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा गराएको जानकारी दिएको छ।
मालपोत कार्यालय लमहीका अनुसार एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिवर्तन गर्न नपाउने गरी खरिदबिक्रीका लागि वैधता प्रदान गरिएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्रका आधारमा उक्त निर्णय गरिएको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुवँरले जानकारी दिएका छन्। राजधानी क्षेत्रमा पर्ने राप्ति गाउँपालिकाका सबै वडा र गढवा गाउँपालिकाको वडा नं १, २ र ३ को जग्गा फुकुवा भएको हो।
राप्ती गाउँपालिकाको पूरै नौ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय भएको थियो ।


