काठमाडौँ– पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा बिक्री र सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने जनाएको छ।
‘गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने छ,’ जिप्रकाद्वारा जारी सूचनामा भनिएको छ।
बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु हुने प्रशासनले जानकारी दिएको छ।
कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।



