काठमाडौं- ब्राजिलियन सिरी ए को यो सिजन आश्चर्यजनक उथलपुथलका साथ समाप्त भएको छ। ब्राजिलियन शिर्ष डिभिजनको फुटबलमा सबैभन्दा प्रतिष्ठित टिम एफसी सान्तोस रेलिगेसनमा परेको छ। १११ वर्षको इतिहास बोकेको क्लब पहिलो पटक दोस्रो डिभिजनमा घटुवा भएको हो। सिजनको अन्तिम खेलमा फोर्टालेजासँग घरेलु मैदानमा २-१ गोलको हार व्यहोरेपछि सान्तोष रेलिगेसनमा परेको हो।
सान्तोस त्यही क्लब हो, जहाँ पेले खेल्थे। नेयमार पनि सान्तोसकै उत्पादन हुन्। रियल मड्रिडका फर्वाड रोड्रिगो पनि सान्तोसकै उत्पादन हुन्। सान्तोसले यो सिजन ४३ अंक जोड्दै तालिकाको १७ औं स्थानमा रहेर समाप्त गर्यो। रेलिगसनबाट जोगिएको बाहिया भन्दा सान्तोसले १ अंक कम जोड्यो। अन्तिम खेलमा बाहियाले एट्लेटिको मेइनिरोलाई ४-१ गोलले हरायो। यो जितले उसलाई शिर्ष डिभिजनको टिकाउन सक्यो।
तीन पटकका विश्वविजेता पेलको निधनको एक वर्षपछि नै सान्तोस दोस्रो डिभिजनमा घटुवा भयो। पेलेको २०२२ को डिसेम्बर २९ मा ८२ वर्गको उमेरमा निधन भएको थियो। वित्तिय संकट नै क्लबको पतनको कारण भएको बताइएको छ। सान्तोस दोस्रो डिभिजनमा घटुवा भएसँगै अब २ मात्रै यस्ता क्लब बचेका छन्, जसले दोस्रो डिभिजन खेल्नु परेको छैन। ती क्लब हुन्- फ्लेमेङ्गो र साओ पाउलो।
सान्तोसले ८ पटक ब्राजिलियन सिरी ए को उपाधि जितेको छ। क्लब रेलिगेसनमा परेपछि समर्थक क्रुद्ध बनेका छन्। सान्तोसको मैदान एडाडियो भिल्ला बेल्मेरियो बाहिर समर्थकले एक बस सहित चारवटा गाडीमा आगजनी गरेका छन्। यो घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।
पाल्मारिस लगातार च्याम्पियन
सान्तोस आश्चार्यजनकरुपमा दोस्रो डिभिजनमा घटुवा हुँदा पल्मारिसले लगातार दोस्रो पटक लिग उपाधि जितेको छ। लिगको अन्तिम खेलमा पल्मारिसले क्रजेइरोसँग १-१ को बराबरी खेल्दै उपाधि जितेको हो। यो पल्मारिसले जितेको १२औं लिग उपाधि हो। आगामी समरमा रियल मड्रिड आउन लागेका युवा स्ट्राइकर एन्ड्रिकले यो सिजन पाल्मारिसका लागि ११औं गोल गरेका छन्।

घटुवा भएको सान्तोस, लिग विजेता पाल्मारिससँग अर्को क्लब ग्रिमियोको पनि उत्तिकै चर्चा भइरहेको छ। लिगको अन्तिम खेलमा फुल्मानिन्से विरुद्ध ३-२ गोलको जित निकाल्दै ग्रिमियो उपविजेता बन्न सफल भयो। जुन आश्चार्यजनक थियो। किनकी यो सिजनमा ग्रिमियोको प्रदर्शन उतारचढावपूर्ण रहँदै आएको थियो।


