भजनी (कैलाली)- कर्मचारी र टाढाका बिरामीलाई लक्षित गरेर टीकापुर अस्पतालको ओपिडी सेवा बिहान ८ बजेदेखि सञ्चालनमा आएको छ। बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि नै सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ।
बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु भएपछि उपचार गराएर कार्यालय जान सकिने भएको सेवाग्राही बताउँछन्। टीकापुरका सुवर्ण चौधरी ८ बजेदेखि ओपिडी खुलेपछि आमाको उपचार गराएर आफ्नो अफिज जान सकेको खुसी व्यक्त गर्छन्।
‘आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिएँ’, उनले भने, ‘बिहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सक्छु।’
अस्पतालले बिहानको समयमा ओपिडी सेवा सञ्चालन गर्दा आफूहरूलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताए। त्यसैगरी लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आएकी सीता देवकोटाले पनि ओपिडी सेवा बिहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताइन्। ‘यसअघि आउँदा दिनभरी पालो कुर्दै बस्नु परेको थियो, बिहानैदेखि ओपिडी सुरु भएपछि यसपालि दिनभर बस्नु परेन, उपचार पनि समयमै भयो’, उनले भनिन्।
अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताए। नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर फर्किओस् भन्ने उद्देश्यले ओपिडी सेवा बिहानैदेखि सुरु गरिएको उनले बताए।
अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ। हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन्।


