काठमाडौँ- यू–१९ एसिया कपमा नेपालले आज पहिलो खेल पाकिस्तानसँग खेल्दैछ। दुबईको आईसीसी एकेडेमी ग्राउण्ड २ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ।
नेपालले डिसेम्बर ८ (मंसिर २२) पाकिस्तान, डिसेम्बर १० ( मंसिर २४) अफगानस्तान र डिसेम्बर १२ ( मंसिर २६) भारतसँग खेल्ने छ। नेपालले समूह चरणमा तीनवटै टेष्ट राष्ट्रसँग खेल्ने भएको हो।
नेपालका लागि अवसर र चुनौति दुबै एक साथ छ। ‘विश्वकप खेल्न जानुअघि हामीले टेष्ट राष्ट्रसँग खेल्ने मौका पाएका छौं’ मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्, ‘यो हाम्रो क्षमता परीक्षणको राम्रो मौका हो ।’
सन् २००२ को विश्वकपमा भएको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो, त्यसयता भएको सबै खेल पाकिस्तानले जितेको छ। पछिल्लो पटक २०१६ को विश्वकपमा भएको भेटमा पाकिस्तान १२२ रनले विजयी भएको थियो।
समूह ए मा परेको नेपालले पाकिस्तानपछि अफगानिस्तान र भारतसँग खेल्नेछ। तीनवटै टेष्ट मान्यता प्राप्त देश भएकाले एसिया कपलाई नेपालले जित हार भन्दा बढी अनुभव हासिल गर्ने र विश्वकपको तयारीका रुपमा लिइएको छ।


