काठमाडाैँ – जाजरकोट भूकम्पबाट खाद्यान्न र पशुपक्षी गरी १४ करोड बराबरको क्षति भएको छ। ९० हजार बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन्।
भूकम्पबाट ९ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। ३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।
जाजरकोट भूकम्पले जिल्लाभर ५ करोड ४१ लाख ४२ हजार १७२ बराबरका पशुपन्छीको क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार ५६७ मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन्।
गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।
६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदो जस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७२५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको हो।


