काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (के यु) को २९औँ दीक्षान्त समारोह बुधबार हुने भएको छ। धुलिखेलमा रहेको केयुको २९औँ दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८०० विद्यार्थी दीक्षित हुने भएका छन्।
बुधबार पहिलो चरणमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, साइन्सका १ हजार ८३८ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनका अनुसार पहिलो चरणको दीक्षान्त समारोहमा विभिन्न स्कुलका साथै साइन्स विधाका पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना र स्नातक तहका १ हजार ४१६ जना दीक्षित हुनेछन्।
दीक्षान्त समारोहमा स्कुल अफ आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, म्यानेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहेका छन् ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुष प्रतिशत ४६.०३ प्रतिशत तथा महिला ५३.९७ प्रतिशत रहेका छन्। दीक्षित हुनेमध्ये ६.१५ प्रतिशत विदेशी रहेको प्रवक्ता पुनले बताइन्। दीक्षित हुने विद्यार्थीमध्ये भारत, श्रीलङ्का र मालदिभ्स ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन्।


