काठमाडौँ- ८ महिना कार्यकाल संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन्। डा गौतमले आइतबार राष्ट्रपतिलाई राजीनामा बुझाएका हुन्।
डा गौतमले दिएको राजीमाना स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। गौतम २०७७ वैशाख २२ गते महासचिवमा नियुक्त भएका थिए।
आठ महिना कार्यकाल बाँकी छँदै उनले किन राजीनामा दिए त? यो विषयमा संघीय संसदमा चर्चा छ। तर संघीय संसद् सचिवालयका एक कर्मचारीका अनुसार गौतमले एमालेको सेटिङमा राजीनामा दिएका हुन्। गौतमपछि पनि एमालेकै समर्थक कर्मचारीलाई महासचिव बनाउने डिजाइन अनुसार गौतमले राजीनामा दिएका हुन्।
संघीय संसदको महासचिवमा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवै जनाले सिफारिस गर्नुपर्छ। नेपालको संविधानको धारा १०६ को उपधारा १ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ।’
हाल संघीय संसदका दुवै सदनको नेतृत्वमा एमालेबाट निर्वाचित भएर गएका सदस्यहरू सम्माननीय छन्। झापा-२ मा एमालेबाट निर्वाचन जितेका देवराज घिमिरेलाई २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए। उनको कार्यकालको लामै अवधि बाँकी रहेपनि एमालेबाटै राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि राष्ट्रिय सभाको अध्यक्ष बनेका गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० गते सकिँदै छ।
संघीय संसदको महासचिवमा फेरि पनि एमाले समर्थक कर्मचारीलाई नै लैजानका लागि डा गौतमले राजीनामा दिएका हुन्। तिमिल्सिनाको कार्यकाल सकिनुअघि नै संघीय संसदको महासचिवको पद गौतमले खाली गरिदिएका हुन्।
सेटिङ अनुसार गौतमले राजीनामा दिएपछि राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखले संसद्को महासचिव पदका लागि पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेका छन्। उनी यसअघि प्रतिनिधि सभाका सचिव थिए।
सचिवालयका ती कर्मचारीका अनुसार उनी पनि एमालेलाई नै समर्थन गर्न संघीय संसदका कर्मचारी हुन्। ‘महासचिवज्युले पनि सभामुख र राष्ट्रिय सभा अध्यक्षकै चाहना र सेटिङमा राजीनामा दिनुभएको हो,’ उनी भन्छन्, ‘राष्ट्रिय सभा अध्यक्षको कार्यकाल सकिन लागेपछि उहाँहरूले आफ्ना दल समर्थकका लागि महासचिव पद सुरक्षित गर्नुभएको हो।’
