काठमाडौँ- प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो।
गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक १ हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर २ जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य बनाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पुर्याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको छ।
थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा अङ्ग्रेजी टाइपिङ गर्नुपर्ने भन्दै गुरुङले पीडितहरूलाई काठमाडौँस्थित आफ्नो घरमै बोलाई अङ्ग्रेजीको टाइपिङको जाँचसमेत लिएकी थिइन्।
टाइपिङमा पास भएपछि युवासँग जनही २ लाख ६० हजार रुपियाँका दरले असुल गरेका गुरुङसहितको गिरोहले म्यानमार पुर्याएपछि पीडितहरूलाई अमेरिकी नागरिकलाई अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीबाट ठगी गर्न लगाउने गरेको खुलेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


