काठमाडौँ- यू-१९ एसिया कप क्रिकेटमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ। दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा भेट्टायो।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अलआउट भएको थियो। यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो। यसअघि नेपाल सन् २००८ मा वेष्ट इन्डिजविरुद्ध ७४ रनमा अलआउट भएको थियो।
नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहोराले सात, दीपेश कँडेलले चार तथा आकाश चन्दले अविजित चार रन बनाए।
नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिम्बानीले सात विकेट लिएका थिए। उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए ।
उनले दिपक बोहोरा, उत्तम थापा मगर, कप्तान देव खनाल, दिपक प्रसाद डुम्रे, दिपक बोहरा, सुवास भण्डारी र हेमन्त धामीलाई आउट गरे। अर्का बलर आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए।
प्रतियोगितामा नेपालको यो तेस्रो हार हो। यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो।


